'दसैँमा सुरक्षा व्यवस्था कडा, उपत्यकामा ८ हजार प्रहरी परिचालन'

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा दसैँको सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार १५ जना प्रहरी परिचालन गर्नेगरी उपत्यका प्रहरी कार्यालयले दसैँ सुरक्षा योजना लागू गरेको हो ।

विज्ञापन

असोज ३१ गते फूलपातीदेखि दसैँको बिदा सुरु हुन्छ । सुरक्षा योजना छठसम्म लागू गरिने उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।

दसैँमा धेरै किनमेल हुने बजार, व्यापारिक केन्द्र, बसपार्क र उपत्यका प्रवेश गर्ने नाकाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडामा सादा पोसाकका सुरक्षाकर्मीसँगै तालिमप्राप्त कुकुर प्रयोग गरेर चेकजाँच थालिएको छ ।

नाकामा डग स्निफिङ गरेर चेकजाँच थालिएको डीआईजी थपलियाले बताए । उनले भने, ‘मुख्य बजार क्षेत्रमा ड्रोनबाट निगरानी गरिएको छ, लुटपाट र पाकेटमारी हुन सक्ने स्थानमा माइकिङ पनि गर्नेगरी सुरक्षा योजना लागू भएको छ ।’

कसैले विस्फोटक पदार्थ र लागुऔषध ल्याएमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाभर ३७ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ । काठमाडौं जिल्लामा मात्रै १५ ठाउँमा यात्रु सहायता कक्ष राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए ।

सार्वजनिक यातायात र निजी सवारीचालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरेर चलाउन सक्ने आशंकामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ सै घण्टा मापसे र लापसे चेकिङ गरिरहेको छ । असोज २५ देखि नयाँ बसपार्क, कलंकी, भक्तपुरको जगाती र ललितपुरको टिकाभैरवमा लापसे र मापसे चेकिङ सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए ।

सुरक्षा योजना लागू भएपछि लापसे गरेर सवारी चलाउने १२ जना र मापसे गरेर सवारी चलाउने २४६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १८ जना सार्वजनिक सवारीका चालकले मापसे गरेर चलाएको भेटिएको एसएसपी काफ्लेले बताए ।

स्विप अपरेसन सञ्चालन गरेर उपत्यकामा रातको समयमा शंकास्पद तरिकाले हिँडडुल गरेका ३४१ जनालाई नियन्त्रणमा लिएर प्रहरीले स्क्रिनिङ गरेको छ । दसैँको सुरक्षा योजना लागू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाबाट ७ जनालाई फलामको रडसहित फेला पारेर अनुसन्धान गरिरहेको छ ।

चाडपर्व सुरक्षा योजना लागू भएपछि पक्राउ परेकाहरूलाई स्क्रिनिङ गर्दा १२ जनाको रेकर्ड प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा मेल खाएको छ । मुद्दा चलेर फरार रहेका आरोपीहरूलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार हुने ठाउँ र आर्थिक कारोबार हुने स्थानमा सीसीटीभीमार्फत २४ सै घण्टा निगरानी भइरहेको डीआईजी थपलियाले बताए ।

के–के छन् सुरक्षा चुनौती ?
काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकामा हुन सक्ने सम्भावित ९ वटा घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ । सुरक्षा चुनौतीकै आधारमा आफ्नो सुरक्षा रणनीति तयार गरेर अघि बढाएको हो ।

सुरक्षा योजनाअनुसार आर्थिक अपराध र ठगीलाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ । विशेषगरी कारोबार तथा लेनदेनसम्बन्धी ठगी, बैंक तथा वित्तीय ठगी र पछिल्लो समय डरलाग्दो रूपमा बढ्दै गएको अनलाइन स्क्यामलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

दैनिक उपभोग्य सामानको अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको वितरण, कृत्रिम अभाव र कालोबजारीलाई पनि सुरक्षा चुनौतीको सूचीमा राखेर प्रहरीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

भौतिक सुरक्षातर्फ चोरी, लुटपाट, गुण्डागर्दी, झैझगडा तथा वादविवाद हुन सक्ने भन्दै प्रहरीले सम्भावित क्षेत्रमा गस्ती बढाउने गरी सुरक्षा योजना लागू गरेको छ । सवारी दुर्घटना र यात्रुलाई बिचौलियाले हैरानी पार्न सक्ने सम्भावनालाई सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरिएको छ ।

अघिल्ला वर्षहरूमा पनि टिकट अभावको बहानामा यात्रुलाई बिचौलियाहरूले हैरानी दिने र ठग्ने गरेका थिए । ठगी नियन्त्रण गर्न विशेष ट्राफिक व्यवस्थापन र निगरानी गरिने सुरक्षा योजनामा उल्लेख छ ।

यसबाहेक, समाजमा विकृतिका रूपमा फैलिने जुवातास तथा सट्टेबाजी सञ्चालन हुन सक्ने आकलन गरिएको छ । पटका लगायतका विस्फोटक पदार्थको प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कडा कारबाही गर्नेगरी सुरक्षा योजना लागू गरेको छ ।

सुरक्षा योजनाअनुसार काठमाडौंको नयाँ बसपार्कमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । धेरै मानिसहरू नयाँ बसपार्क हुँदै बाहिरिन्छन् । टिकटमा कालोबजारी र यात्रुलाई हैरानी पार्ने गतिविधि नियन्त्रण गर्न बसपार्क क्षेत्रमा नियमित ड्युटीमा खटिनेबाहेक थप ३० जना प्रहरी परिचालन गरिएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सम्भावित अपराध न्यूनीकरण गर्न रातको समयमा पनि प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरेको छ ।

यो पनि पढ्नुहोस

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

कांग्रेस महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, शपथग्रहण दसैँपछि

चितवनमा नौ महिनामा ८० नयाँ एचआइभी सङ्क्रमित थपिए

अधिकार नदिएको भन्दै संघ सरकारप्रति मुख्यमन्त्रीहरूको आक्रोश

नेपाल आज ओमानसँग भिड्दै, जित निकाल्ने लक्ष्य

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

लागुऔषधविरुद्ध प्रहरीको कारबाही : विभिन्न स्थानबाट ३१ जना पक्राउ

‘लापसे गरेर सवारी चलाउनेको लाइसेन्स खारेज गरौँ’ : मुख्यमन्त्री थापा